नियम
स्वास्थ्य संस्थाजन्य फोहरमैलाको निष्काशन तथा व्यवस्थापन

(१) स्वास्थ्य संस्थाले आफूले उत्पादन तथा निष्काशन गरेको स्वास्थ्य संस्थाजन्य फोहरमैलालाई स्रोतमै पृथकीकरण गरी प्रशोधन तथा व्यवस्थापन गर्नु पर्नेछ ।

(२) स्वास्थ्य संस्थाजन्य हानिकारक फोहरमैलाको निर्मलीकरण, प्रशोधन र व्यवस्थापन गर्दा अपनाइने विधि, प्रविधि र व्यवस्थापन स्थलको सम्बन्धमा स्थानीय निकायबाट स्वीकृति लिनु पर्नेछ । स्थानीय निकायले यसरी स्वीकृति दिंदा स्वीकृतिको लागि पेश गरिएको विधि, प्रविधि र व्यवस्थापन स्थल नेपाल सरकारले तोकेको मापदण्ड अनुकूल भए नभएको एकिन गरी स्वीकृति दिनु पर्नेछ ।

(३) उपनियम (२) बमोजिम स्वीकृति प्राप्त स्वास्थ्य संस्थाले स्वास्थ्य संस्थाजन्य फोहरमैलाको प्रशोधन, निर्मलीकरण एवं व्यवस्थापन सम्बन्धी कार्य आफैंले गर्नु पर्नेछ ।

(४) उपनियम (३) बमोजिम प्रशोधन, निर्मलीकरण एवं व्यवस्थापन सम्बन्धी कार्य आफैंले गर्न नसक्ने भएमा स्वास्थ्य संस्थाले प्रशोधन, निर्मलीकरण एवं व्यवस्थापन गर्नको लागि सम्बन्धित स्थानीय निकायलाई अनुरोध गर्न सक्नेछ । यसरी अनुरोध गरेमा सोको प्रशोधन, निर्मलीकरण एवं व्यवस्थापन स्थानीय निकायले आफैंले वा आफ्नो समन्वयमा गर्न सक्नेछ ।

(५) स्वास्थ्य संस्थाबाट उत्पादन तथा निष्काशन हुने सामान्य प्रकृतिका फोहरमैला तथा स्वास्थ्य संस्थाजन्य हानिकारक फोहरमैलालाई प्रशोधन तथा निर्मलीकरण गरे पश्चात् उक्त फोहरमैला समेतलाई स्थानीय निकायले सम्बन्धित स्वास्थ्य संस्थासँग सेवा शुल्क लिई विसर्जन गर्ने व्यवस्था मिलाउन सक्नेछ ।

(६) स्वास्थ्य संस्थाजन्य संक्रमित फोहर पूर्णरुपमा निर्मलीकरण भए नभएको सम्बन्धमा मान्यता प्राप्त प्रयोगशालाबाट जाँच गराई प्रमाणित गराउनु पर्नेछ ।

(७) स्वास्थ्य संस्थाजन्य हानिकारक फोहरमैला उत्पादन गर्ने स्वास्थ्य संस्थाले त्यस्तो फोहरमैला व्यवस्थापन सम्बन्धमा प्रचलित वातावरणीय कानून र मापदण्डको पूर्णरुपमा पालना गर्नु पर्नेछ ।

(८) उपनियम (३) बमोजिम स्वीकृति लिई स्वास्थ्य संस्थाजन्य फोहरमैला व्यवस्थापन गर्ने स्वास्थ्य संस्थाले स्वीकृत विधि, प्रविधि र स्थलको प्रयोग गरी व्यवस्थापन गरे नगरेको अनुगमन स्थानीय निकायले गर्नेछ ।